खेलकुद

‘लिम्बुनी ठुली स्मृति कप’को तयारी तीव्र (टाइसिटसहित)

By admin

January 30, 2025

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका ३ स्थित खुदुनाबारीमा लिम्बुनी ठुली स्मृति कप २०८१ को तयारी तीव्र पारिएको छ ।

 

च्यारिटी युथ क्लब खुदुनाबारीको आयोजनामा माघ २७ गतेदेखि हुने प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । आयोजक क्लबका अध्यक्ष लिलाबल्लव खतिवडाका अनुसार लामो समय खुदुनारीमा रहेको भुटानी शरणार्थी शिविरमा बसेकी आइतमाया सुब्बा सुहाङ पुनर्स्थापनाका क्रममा अमेरिका गएकी थिईन् । उनको एक वर्षअघि निधन भएको थियो ।

 

उनका छोरा बाबी सुब्बा अमेरिकाको राजधानी न्युयोर्क छन् । खेलकुदमा रुची राख्ने सुब्बाले अमेरिकामै क्लब दर्ता गरेर फुटबलका गतिविधि समेत सञ्चालन गरिरहेका छन् । शरणार्थी शिविरमा हुर्किएका उनै सुब्बाको सक्रियतामा अर्जुनधाराको खुदुनाबारीमा यो प्रतियोगिता आयोजना हुने भएको हो ।

 

कोशी प्रदेश क्लब स्तरीय यो प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलाम, एपीएफ क्लब पकली, रोलिङ क्लब धुलाबारी, बुट्टाबारी युनाईटेड क्लब झापा, पथरी ११ फुटबल क्लब मोरङ, बेलडाँगी फुटबल क्लब, जलथल फुटबल क्लब झापा र आयोजक च्यारिटी युथ क्लबबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका खेल तथा मैदान व्यवस्थापन संयोजक दिपक दुलालले जानकारी दिए ।

 

प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ठ डिफेन्स, फरवार्ड, स्ट्राईकर, गोलरक्षक र कोचले जनही ५ हजार पुरस्कार पाउने आयोजक कमिटीका प्रवक्ता युवराज चापागाईंले जानकारी दिए ।

 

 

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने आयोजक समितिका संयोजक सूर्य इम्बुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ।

 

गोलाप्रथाबाट खेल तालिका तय भएको प्रतियोगिताको पहिलो खेलमा माघ २७ गते रेडहर्स क्लब इलाम र बुट्टाबारी युनाइटेड क्लब बिर्तामोडबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा २८ गते आयोजक र पथरी ११ एफसी मोरङबिच खेल हुने छ ।

 

यसैगरी, २९ गते बेलडाँगी एफसी दमक र जलथल एफसी झापा तथा ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरीबीच खेल हुने आयोजक समिति सचिव मदन गिरीले जानकारी दिए ।