समाज

विराटनगरमा बालिकाको शव प्रकरणः मावल घरका ६ जना पक्राउ

By admin

January 31, 2025

विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावल घरका ६ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा मावल घरतर्फका हजुर बुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल छन् ।

 

मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर ५ घर भएका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिनाअघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् ।

 

चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुबा लालमोहन भारत फर्केका थिए । ५-६ दिनयता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।

 

यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।