समाज

फोनिज झापाको अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत

By admin

February 01, 2025

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् । स्थापना भएको २५ वर्षपछि आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजको नेतृत्व आदिवासीको नेतृत्वमा गएको हो ।

 

आज बिर्तामोडमा भएको फोनिजको सातौँ जिल्ला अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् ।

 

त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णु श्रेष्ठ, सुजन राई, सौरभ मुखिया, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।

 

त्यस्तै अधिवेशनबाट ८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । दिपिन राई, गणेशमान मुखिया, भूमिका फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

 

फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघका प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा स्व डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ । त्यस्तै, ५ हजार राशि भएको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो ।