समाज

झापामा गोली हानी ब्राउनसुगर कारोबारी पक्राउ

By admin

February 05, 2025

झापा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । पक्राउपछि दुई भारतीय कारोबारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

 

हिजो साँझ ६ः३० बजे कनकाई नगरपालिका ४ स्थित भित्री सडकखण्डमा कुमरखोदबाट सुरुङ्गातर्फ आउँदैं गरेको बीआर ३७ एए ८४९८नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

 

उक्त मोटरसाइकलमा सवार भारत डिगलबैंक थाना ५ का २८वर्षीय अन्जार आलम (चालक) र मोटरसाइकल पछाडि सवार उनका सहोदर भाइ अन्दाजी १९ वर्षीय युसुब आलमलाई चेकजाँचको लागि रोक्न खोज्दा मोटरसाइकलको गति बढाएर प्रहरीलाई ठक्कर दिई भाग्न खोजेका थिए ।

 

उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट ४ राउण्ड हवाई फायर गर्दासमेत नरोकी भाग्दै गर्दा नियन्त्रणमा लिनका लागि अन्जार आलमको देब्रे घुँडामुनि एक राउण्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

उनीहरुलाई चेकजाँच गर्दा अन्जार आलमको साथबाट प्लाष्टिकसहित ३२ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । घाइते अन्जार आलमको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।