शिक्षा

अर्जुनधाराको सिंहदेवी माविमा दुर्गा प्रसाईले बनाइदिए दुईतले भवन

By admin

February 05, 2025

शनिश्चरे (झापा) । गतवर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले यसवर्ष अर्जुनधारा १ को सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् ।

 

आफ्ना दिवंगत पितृहरुको स्मरणमा करिब २ करोडको लागतमा सिस्नेस्थित सिंहदेवी माविलाई उनले खानेपानी ट्यांकीसहित विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

 

प्राडा सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको विद्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा बीएण्डसी अस्पतालका सञ्चालक प्रसाई, अध्यक्ष इन्दिरा गिरी, प्रसाईका छोरा डा निराजन प्रसाई, बुहारी अन्जली प्रसाईलगायतले विद्यालयलाई सो भवन हस्तान्तरण गरेका हुन् ।

 

सिंहदेवी माविले प्रसाईसँग खानेपानीको ट्यांकी निर्माण गरिदिन आग्रह गरेको थियो तर उनले त्यहाँ करोडौंको विद्यालय भवन नै बनाइदिएका हुन् । गतवर्ष बिर्तामोड २ स्थित मोहनमाया माविले पनि प्रसाईसँग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिएका थिए ।