खेलकुद

झापाः अर्जुनधारा ६ र ८ यु-१८ को सेमिफाइनलमा

By admin

February 05, 2025

शनिश्चरे (झापा) । अर्जुनधारा ६ र ८ नम्बर वडा शनिश्चरे एफसी अर्जुनधारा झापाको आयोजनामा यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

अर्जुनधारा ७ स्थित खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ९ नम्बर वडालाई सडन डेथमा ६-३ गोलअन्तरले पराजित गर्दै ६ नम्बर सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

साविक विजेता ६ नम्बरले ९ नम्बर वडासँग निर्धारित समयमा २-२ गोलको बराबरी खेलेको थियो । ६ नम्बरका लागि साहिल तामाङले गरेका थिए भने ९ नम्बर वडाका लागि दुवै गोल प्रभुषण राईले गोल गरेर बराबरी खेलेका थिए ।

 

यसैगरी, अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा ८ नम्बर वडाले ५ नम्बर वडालाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

पहिलो संस्करणको विजेता ८ नम्बर वडाले ५ नम्बरसँग निर्धारित समयमा गोलरहित बराबरी खेलेको थियो । खेलको छिनोफानोका लागि सोझै टाइब्रेकर रोजिएको थियो ।

 

दुवै खेलको प्लेयर अफ दी म्याच गोलरक्षक बनेका छन् । ६ नम्बरका लागि अनिल दनुवार र ८ नम्बरका लागि दिपेश चौधरी प्लेयर अफ दी म्याच बन्दै नगद १ हजार पाउन सफल भए ।

 

भोलि पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा ६ ले अर्जुनधारा १ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाउने छन् ।