काँकरभिट्टा । विगत पाँच वर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन अन्तिम सातातिर हुने भएको छ। स्थानीय काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गतेदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले आज एक अन्तरक्रिया कार्यक्रम गरेर जनाएको हो।
आज शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बीच आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ।
प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लबसहित आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरी ८ टिमको सहभागिता रहने छ। प्रतियोगिताको बिजेता टिमले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विभिन्न विधाका उत्कृष्ट पुरस्कारहरुसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
आज संक्षिप्त कार्यक्रममा संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्व प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरू, नेकपा एमाले अध्यक्ष राजु कार्की, पूर्व जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा र चन्द्र प्रसाईलगायतले सल्लाह सुझावसहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी लगायतले प्रतियोगिताको बारेमा रायसहित जिज्ञासा राखेका थिए । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षता आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष अशोक राई र सञ्चालन लाक्पा तामाङले गरेका थिए ।