समाज

अर्जुनधारामा माटो बचाउ अभियान कार्यक्रम

By admin

February 10, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा माटो बचाउन अभियानअन्तर्गत एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगरको कृषि विकास शाखाको आयोजनामा आइतबार माटो बचाउ अभियानसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रमका सहजकर्ताहरुले माटो र मानव स्वास्थ्यको सम्बन्ध एकअर्कामा सम्बन्धित रहेकाले पनि माटोलाई स्वच्छ र स्वस्थ राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले रोगी माटोबाट रोगी उत्पादन हुने भन्दै रोगी उत्पादनले मानव स्वास्थ्यमा रोगमात्र सार्नसक्ने जिकिर गरेका थिए ।

 

रोगी माटोका कारण अहिलेका मानिस औषधिले बाँचेको बताउँदै सहजकर्ता डा वीपी रेग्मीले विषादीको प्रयोगले माटो रोगी भएकाले हस्पिटल स्वास्थ्य नभइ खानेकुरा नै स्वस्थ हुनुपर्नेमा जोड दिए ।

 

माइन्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोग रहेको अभियानका संयोजक डा रेग्मीसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले माटो जीवनको आधार भएकाले यसका अवयव हावा, पानी पनि बचाउनुपर्ने बताए ।

 

‘जैविक मल प्रयोग गरौँ, रसायनिकको साटो, एउटी आमा जन्म दिने, अर्की आमा माटो’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा अभियानका सल्लाहकार पदम भण्डारी, अम्बिका देवीलगायतले आफ्ना धारणा राखेका थिए ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता तथा कृषि शाखाकी प्रमुख एञ्जिला बेडारीले सञ्चालन गरेको कार्यक्रममा ९० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।