समाज

अर्जुनधारा नगरपालिकाको हिउँदे अधिवेशन शुरु

By admin

February 11, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको १६औं अधिवेशन शुरु भएको छ । नगरसभाको १६औं नियमित अधिवेशनमा स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समिक्षासहित आज (मंगलबार)देखि हिउँदे अधिवेशन शुरु भएको हो ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समिक्षासहित प्रतिवेदन पेश गरेकी थिइन् ।

 

नगर उपप्रमुख पराजुलीले आर्थिक वर्ष २०८१/०८२ को लागि १५औं नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनको संक्षिप्तमा प्रगति समिक्षा प्रस्तुत गरेकी थिइन् । ।

 

चालु आर्थिक वर्षका लागि ९६ करोड २१ लाख ८३ हजार ८४२ रुपैयाँ बजेट स्वीकृत गरिएको र आय व्ययतर्फ २०८१ पुस मसान्तसम्म पुँजीगततर्फ २०.०५ प्रतिशत, चालुतर्फ ३६.५२ प्रतिशत र वित्तीयतर्फ २९.५६ प्रतिशत खर्च भइसकेको छ ।

 

यसैगरी विषयगत क्षेत्रगत रुपमा आर्थिक विकासमा १ करोड ३२ लाख ८७ हजार ४०९ रुपैयाँ, सामाजिक विकासतर्फ १४ करोड ३४ लाख ८० हजार ३७९ रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ८ लाख ३ हजार २३३ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २७ लाख ७४ हजार ३३० रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६ करोड ४० लाख ९७ हजार १८८ रुपैयाँ भएको छ । जसको प्रतिशत ४६.४३ प्रतिशत हो ।

 

चालु आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक स्रोततर्फ कुल ७ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्ममा ३ करोड ४५ लाख ७० हजार ३६७ रुपैयाँ संकलन भइसकेको छ । त्यसैगरी नदीजन्य पदार्थ उत्खनन् संकलन तथा बिक्रीवापत ७ करोड २७ लाख १५ हजार ७१९ रुपैयाँको (भ्याट बाहेक) ठेक्का बन्दोबस्त भइसकेको नगर उपप्रमुख पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

उनले चालु आर्थिक वर्षमा नगरपालिकामा महत्वपूर्ण योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस अवधिमा केही महत्वपूर्ण बहुवर्षीय एवम दीर्घकालिन महत्वका नगर गौरवका आयोजनाहरु शुरु गरेको नगरले जनाएको छ । नगर प्रमुख विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत ५० जना विपन्न नागरिकहरुका लागि आधारभूत सुविधासम्पन्न आवास निर्माणको कार्य प्रक्रियामा रहेको छ ।

 

कोशी प्रदेशकै नमुना पशु अस्पताल निर्माण गर्ने उद्देश्यसहित हालको पशुपंक्षी विकास शाखा रहेको वडा नं ९ को कटहरडाँडामा नमुना पशु अस्पताल निर्माणको कार्य भइरहेको छ ।

 

यसैगरी वडा नं १ को मदनपुरमा छिमेकी पालिका बिर्तामोड, कनकाई र बुद्धशान्तिको लागत साझेदारीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण चरणमा, हलुवागढ़ पर्यापर्यटन परियोजना, १५ शैय्याको शनिश्चरे अस्पताल, महानन्द चौक लक्ष्मीपुर सडक नाला निर्माण मुख्य छन् ।

 

कार्यक्रममा अर्जुनधारा ६ का वडाध्यक्ष हरिश बाँस्तोला र वडा नम्बर ३ की कार्यपालिका सदस्य चन्द्रमाया तामाङले छलफलका लागि प्रस्ताव पेश गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रेग्मी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । नगरसभाको आगामी बैंठक फागुन ४ गते २ बजे बस्ने नगर प्रमुख बलदेवले जानकारी दिए ।