समाज

अर्जुनधारामा असल अभिभावकबारे चेतनामुलक कार्यक्रम

By admin

February 15, 2025

झापा । झापा अर्जुनधाराका स्थानीय अभिभावकहरुलाई असल अभिभावकसम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

 

अर्जुनधारा ८ मा रहेको नारी चेतना समूहको आयोजना र अर्जुनधारा नगरपालिकाका वडा कार्यालयहरुको सहयोगमा गाउँमै पुगेर अभिभावकहरुलाई चेतनामुलक कार्यक्रम दिइन थालेको हो । यसैक्रममा शुक्रबार ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एकदिने असल अभिभावकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

अर्जुनधारा ५ पानीकलस्थित सामुदायिक भवनको सभाहलमा संस्थाकी अध्यक्ष पम्फादेवी विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का (हरि)ले गरेका थिए ।

 

अभिभावकको भूमिका, पारिवारिक तथा सामाजिक संस्कारबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । समूहले यसअघि विभिन्न वडामा गएर जनप्रतिनिधिहरुसँगको सहकार्यमा यो कार्यक्रम गर्दै आएको छ ।

 

सहजकर्ताहरु नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू, अर्जुनधारा १० स्थित प्रगति महिला कृषक समूहकी अध्यक्ष गान्धारी मिश्र र प्रदीप पुरीले सहजीकरण गरेको कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता रहेको सहसचिव निर्मला राईले जानकारी दिइन् ।

 

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङ, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव पूर्णिमा सिटौलाले स्वागत र अध्यक्ष विश्वकर्माले कार्यक्रमको औचित्यसहित संस्थाबारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन सहजकर्ता खम्बूले गरेका थिए ।