खेलकुद

महिला फुटबल: आज अर्जुनधारा र कनकाई फाइनल खेल्दै

By admin

February 17, 2025

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्न अर्जुनधारा र कनकाई नगरपालिकाले आज फाइनल खेलमा प्रतिस्पर्धा गर्दै छन् । दुवै टिमले उपाधि जित्ने दाबीसमेत गरेका छन् ।

 

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका हुन् । आज हुने फाइनल खेलका लागि आइतबार आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा कनकाईकी कप्तान खुस्मा राईले तयारी राम्रो भएकाले जित निकाल्ने दाबी गरिन् ।

 

त्यस्तै, अर्जुनधाराकी कप्तान जेनिफर रानाले पनि उपाधिका लागि आफूहरु तयार रहेको बताइन् । कन्फ्रेन्समा कनकाईका कोच सन्त रायमाझी र अर्जुनधाराका कोच पुष्प मादेनको सहभागिता रहेको थियो ।

 

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।