खेलकुद

झापा ११ द्वारा मच्छिन्द्रको चुनौती समाप्त

By admin

February 20, 2025

भद्रपुर । हिजोमात्र इटहरी गोल्डकपको फाइनलमा पुगेको मच्छिन्द्र एफसी गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

 

उपाधिको दाबेदार मानिएको मच्छिन्द्रको चुनौती झापा ११ फुटबल क्लबले समाप्त बनाएको हो । जितसँगै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको चोट बिर्सेको छ ।

 

झापाका लागि खेलको २९औँ मिनेटमा एकमात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

 

बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ । खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए ।

 

शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

 

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।