खेलकुद

बिर्तामोडमा प्रदेशस्तरीय तेक्वान्दो हुने, उत्कृष्ट टिमले ५० हजार पाउने

By admin

February 24, 2025

बिर्तामोड। झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते प्रदेशस्तरीय प्रतियोगिता हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

 

प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सयभन्दा बढी खेलाडी, एक सय अफिसियल (निर्णायक)हरु र अन्य गरी दुई हजारभन्दा बढीको सहभागिता रहने फिट स्टुडियोका संस्थापक दिपेन धिमालले जानकारी गराए ।

 

तेक्वान्दो खेलमार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्ने प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । पछिल्लो समय अधिकांश युवा लागूऔषधको दलदलमा फसिरहेको र उनीहरुलाई खेलका माध्यमबाट सही मार्गमा डोर्याउन सहयोग लक्ष्य लिइएको अध्यक्ष धिमालले बताए ।

 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ आठ वटा तौल समूहमा खुल्ला तेक्वान्दो प्रतियोगिता हुनेछ । तीनवटा उमेर समूहमा हुने पुम्से प्रतियोगिताअन्तरगत तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

 

त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला-पुरुषले २०-२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।

 

प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २० जना राष्ट्रिय तथा २० अन्तर्राष्ट्रिस्तरका निर्णायक (रेफ्री) रहने छन् ।

 

प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । स्थानीय सरकार, प्रदेश सरकार र खेलप्रेमी सहयोगी दाताको सहयोगले प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष धिमालले बताए ।

 

पत्रकार सम्मेलनमा बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, तेक्वान्दो संघ प्रदेश समितिका उपाध्यक्ष विनोद बस्नेत, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मालगायतको सहभागिता रहेको थियो ।