शनिश्चरे । झापाको अर्जुनधारा १ मा रहेको खुदुनाबारी अर्जुनधारा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको अध्यक्षमा केदारनाथ पराजुली निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि हिजो पहिलोपल्ट निर्वाचन गरिएको थियो ।
तीनवर्षे कार्यकालका लागि केदारनाथ पराजुलीले प्रतिद्वन्द्वीविरुद्ध झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका हुन् । उनले सर्वाधिक १ हजार २३६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद प्रसाईले ६३३ मतमात्र ल्याए ।
यसैगरी, उपाध्यक्षमा पद्ममाया मैनाली (१०२२), सचिवमा भरतबहादुर सुब्बा (९८३), सहसचिवमा डिल्लीकुमारी पौडेल (७३५) र कोषाध्यक्षमा सुनिता ढुंगाना (८२१) मत ल्याउँदै निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यमा वेदराज वाग्ले (३१४), मनकुमार एक्तेन (३०७), टंकबहादुर गहते (१३६), गिताबहादुर लम्जेल (११८), घनेन्द्र बुढाथोकी ३०५), रितादेवी कार्की (२५७), गोपालकुमार बुढाथोकी (२४१) र चन्द्रकला भुजेल (२१९) मत ल्याउँदै विजयी भएको निर्वाचन समितिका सदस्य सचिव तिवेन्द्र काफ्लेले जानकारी दिए ।
२०५१ सालमा स्थापना भएको समितिमा कुल २ हजार ४१२ जना मतदाता संख्या रहेको छ । समितिका सदस्य सचिव काफ्लेका अनुसार २ हजार १३ मत खसेको थियो । १३ सदस्यीय समितिका लागि २६ जनाको उम्मेद्वारी परेको थियो ।
प्रसाई यसअघिको समितिको अध्यक्ष हुन् । पराजुलीले तेस्रो पटक नेतृत्वका लागि सहमतिको प्रयास गरेको बताइएको थियो । दुवै प्रत्यासी नेकपा एमाले निकट हुन् । तर, प्रसाईलाई पार्टीले उम्मेद्वारी नदिएपछि नेपाली कांग्रेससँगको तालमेलमा उम्मेद्वारी दिएको बताइएको छ ।