विराटनगर। कोशी प्रदेश खेलकुद विकास वोर्डद्वारा संयोजित प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत बुद्धिचाल प्रतियोगितामा बुधबार पूर्व नेपाल च्याम्पियन राजन सुवेदीले दुवै खेलमा जीत दर्ता गर्दै अग्रता लिएका छन्।
झापा जिल्लाका १९८२ रेटेड राजनले झापाकै १५७१ रेटेड प्रविशा दवाडी र सुनसरीका १७४८ रेटेड बलबहादुर तामाङलाई पराजित गरेर अग्रता बनाएका हुन्।
झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा झापा जिल्लाका शीर्ष २०२१ रेटेड सिएम शुश्रुत दाहालले पनि दुवै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन्।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेलमार्फत कोशी प्रदेशका ८२ जना खेलाडीमध्ये पहिलो दिन समान २ अंक जोडी १८ जना राष्ट्रिय खेलाडी शीर्ष स्थानमा रहन सफल छन्।
प्रतियोगितामा १८३७ रेटेड हिमाल राई, अनरेटेड रिटेशराज नेपाल, १९८२ रेटेड रिशोन थापा, १९१५ प्रज्वल धिमिरे, १८८२ रेटेड तिर्थराज सुब्बा, १८६५ रेटड लोकसागर साम्बा, १९३२ रेटेड प्रकाशचन्द्र नेपाल, महिला कृतिसारा अधिकारी लगायतका खेलाडी अगाडि छन्।
प्रदेशका २९ जना खेलाडीले कूल नगद पुरस्कार २ लाख १ हजार प्राप्त गर्ने स्पर्धाको पहिलो हुने खेलाडीले नगद ५० हजार हात पार्नेछन्। यसैगरी, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार, चौँथो हुनेले १० हजार र बाँकी दशौं स्थानमा रहन सफल खेलाडीले जनही ५ हजार पाउने छन्।
झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा भएको समारोहमा कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) र संघका महासचिव धरमबहादुर लामाले चेस गोटी चालेर उद्घाटन गरेका थिए । फागुन १८ गतेसम्म चल्ने खेलकुद महोत्सवमा विभिन्न ११ विधाका खेलहरु समावेश गरिएको छ । जसमध्ये बुद्धिचाल खेलका दुई चरण सम्पन्न भएका छन्।