खेलकुद

भद्रपुर ब्लेजर्सलाई भद्रपुर झापा गोल्डकपको उपाधि

By admin

February 28, 2025

भद्रपुर । आयोजको टिम भद्रपुर ब्लेजर्सले गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।

 

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख पाएको छ । मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलअन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा सीमित झापा ११ ले नगद ७ लाख पाएको छ ।

 

भद्रपुरले खेलको ३०औँ मिनेटमा अग्रता लिएको थियो । डिबक्स बाहिरबाट मिलन राईको सर्ट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १-० ले अग्रता दिलाए । यस्तै, खेलको इन्ज्युरी समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित निश्चित बनाएका हुन् ।

 

फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी पाए ।

 

यसैगरी, उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।

 

फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।