समाज

झापाको बर्नेबाट १६३६ किलो गाँजासहित दुई वटा ट्रक र दुईजना पक्राउ

By admin

March 22, 2025

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करिब १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका ४ का २८ वर्षीय महेश राई र इलाम माइजोगमाई गाउँपालिका २ का ३७ वर्षीय गंगाबहादुर बस्नेत छन् ।

 

हिजो दिउँसो ४ः२० बजे इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईको कमाण्डमा खटिएको टोली र झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्रकुमार तिम्सिनाको कमाण्डको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

 

चेकजाँचका क्रममा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । मिनी ट्रकहरुलाई नियन्त्रणमा लिने क्रममा ४ जना व्यक्तिमध्ये दुई जना फरार भएको प्रहरीले जनाएको छ ।

 

उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोवाइल सेटसमेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।