समाज

बुद्धशान्ति प्रेस क्लबको वार्षिक साधारणसभामा सम्मान

By admin

March 22, 2025

बुधबारे । झापा बुद्धशान्तिका पत्रकारहरुको छाता संगठनका बुद्धशान्ति प्रेस क्लब बुधबारेले चौथो वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ ।

 

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा तथा स्थापना दिवस शुक्रबार मनाइएको हो ।

 

सभामा बोल्दै प्रमुख अतिथि गिरीले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिँदै गएकाले सञ्चारकर्मीहरुले ती चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक वजेट विनियोजन गर्न आग्रहसमेत गरेका थिए ।

 

उनले आउँदो दिनमा महासंघले स्थानीय प्रेस क्लबहरुसँग सहकार्य गरेर आवश्यकताअनुसारको तालिमसमेत आयोजना गर्ने बताएका छन् । सभामा संस्थाका संस्थापक अध्यक्ष एवम् बुद्धशान्ति १ का वडा अध्यक्ष अनिल वाग्लेले आफू पनि पहिले सञ्चारकर्मी भएकाले सञ्चारकर्मीको समस्याबारे राम्ररी बुझेकाले आगामी दिनमा वडाबाट पनि पत्रकारका लागि व्यक्तिगत विकास साथै तालिम र संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता दिएका थिए ।

 

उनले प्रेस क्लबको अक्षयकोष स्थापनार्थ वडा कार्यालयबाट ११ हजार एकसय एघार रुपैँया कोष खडा गर्न सहयोग गर्ने उद्घोष गरेका छन् । वडा नं ४ का अध्यक्ष शेरबहादुर रायले संस्था स्थापना दिवसको शुभकामना दिँदै हालसम्म पनि स्थानीय सञ्चारकर्मीसँग सहकार्य गरेरै वडाले कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि आवश्यक वजेट विनियोजन गरेरै सहकार्य गर्ने बताए ।

 

उनले पत्रकारहले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै देखिने गरी निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरे । स्थापना दिवसकै अवसर पारेर विगत तीन दशकदेखि पत्रपत्रिका वितरणसँगै विभिन्न पत्रपत्रिकामा सम्वाददाताका रुपमा काम गर्दै आएका बुधबारे निवासी हरि घिमिरेलाई सम्मानसमेत गरिएको थियो । उनलाई प्रमुख अतिथि गिरी, सभापति तिम्सिनालगायतका अतिथिहरुले सम्मान पत्र साथै अविर, खदाले सम्मान गरिएको थियो ।

 

संस्थाका अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रमा बुद्धशान्तिका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मुल्यांकन गरी वार्षिकरुपमा पत्रकारिता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व विकास तालिमजस्ता कार्यक्रम गर्ने बताए ।

 

त्यस्तै संस्थाकी कोषाध्यक्ष भारती राईले संस्थाको आर्थिक बर्ष २०८०/०८१ को सांगठनिक आयव्य प्रस्तुत गरेकी थिइन् । सभामा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई र स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको सभामा उपाध्यक्ष नारायण अर्यालले स्वागत मन्तव्य राखेका थिए । १६ जना सदस्यबाट २०७६ सालमा स्थापित क्लबमा हाल २३ जना सदस्य रहेका छन् । जसमध्ये ४ जना वैदेशिक रोजगारीमा गएका छन् ।