अर्थ बजार

वर्ल्डलिङ्कको सेवाग्राही १० लाख नाघ्यो

By admin

March 24, 2025

झापा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको सेवाग्राही १० लाखभन्दा बढी पुगेको छ । वर्ल्डलिङ्कले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।

 

योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको दाबी पनि गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ ।

 

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ, ‘हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।’

 

नेपाललाई डिजिटलरूपमा सबल बनाउने वर्ल्डलिङ्कको​ लक्ष्य रहेको जनाएको छ । कम्पनीले अगाडि भनेको छ, ‘हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो ।’

 

कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । वर्ल्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको छ । करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।

 

साथै, देशका १४ हजारभन्दा बढी स्थानमा वर्ल्डलिंकले निःशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् ।