समाज

झापामा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या प्रयास

By admin

March 25, 2025

झापा । झापाको कन्काई नगरपालिकामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई ५ की मनिषा मग्रान्ती रहेकी छन् ।

 

आज बिहान कनकाई ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ४२ वर्षीय लालबहादुर मंग्राती घाइते भएका छन् । उनकी श्रीमती ४० वर्षीया मनिषाको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुरको पनि घाँटीमा चोट लागेको छ ।

 

घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ । दम्पत्तीमध्ये पत्नीको वीभत्स हत्या भएको र पतिको घाँटी आधा काटिएको अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्णबहादुर राईले बताए ।

 

पति लालबहादुरले मादक पदार्थको जोशमा आफूले आफ्नी पत्नी अन्दाजी ४० वर्षीया मनिषा मंग्रातीको हतियार प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीसमक्ष बताएका छन् । उनले आज बिहान ०४ः३८ बजे स्थानीयबासीलाई खबर गरेर आफूले पत्नीको हत्या गरेको जानकारी दिएको बताइएको छ ।

 

स्थानीयले जानकारी गराएपछि जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । जनप्रतिनिधि र गाउँलेले ज्याला मजदुरी गर्दै आएका उनीहरु यसअघि पनि मादक पदार्थ सेवन गर्ने र बेलाबेला झगडा गरिरहने बताएका छन् ।

 

स्थानीयबासीका अनुसार घटना बिहान ३ बजेतिर भएको हो । ताप्लेजुङ सिनाम घर भएका उनीहरु त्यहाँ दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरामा बस्दै आएका थिए । उनीहरु हिजो दिनभर मजदुरी गर्न गएको गाउँलेले बताए ।