खेलकुद

एनएसएलमा पोखराविरुद्ध चितवनको स्पष्ट ३ अंक

By admin

March 31, 2025

काठमाडौं । तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हराएको छ।

 

नोडिर माभलोनोभ र निरज चौधरीले गोल गरे। जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टोली बन्यो। यसअघि भएका २ खेल बराबरीमा सकिएको थियो।

 

आज भएको खेलको १४औं मिनेटमा नै चितवनले अग्रता बनायो। भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको पासमा शिशिर लेखीले छोडिदिएको बलमा नोडिर माभलोनोभको राइट फुटेट सट उत्कृष्ट गोलमा परिणत भयो। चितवनले १-० को अग्रता बनायो।

 

आधा दर्जनभन्दा बढी मौका गुमाएको चितवनले इन्ज्युरी समयमा दोस्रो गोल गर्यो। काउन्टर अट्याकमा भिक्टरको थ्रु पासमा सब्स्टिच्युट निरज चौधरीले गोल गरे। यो सँगै चितवनले २-० को जित हात पार्यो। चितवनले महत्वपूर्ण ३ अंक जोड्यो।

 

चितवनले एनएसएलमा नै दर्ज गरेको यो तेस्रो जित हो। उसले पहिलो सिजनमा जित निकाल्न सकेको थिएन। दोस्रो सिजनमा भने दुई खेल जितेको थियो।

 

साथै, चितवनले पोखरालाई हराएको पनि यो पहिलोपटक हो। यसअघि पहिलो र दोस्रो सिजनमा पोखराले चितवनलाई हराएको थियो। भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुनेछ।