समाज

इलाममा बालिकाहरुलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

By admin

April 01, 2025

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा इलाम नगरपालिका ४ बरबोटेका २२ वर्षीय दिपेश नेपाली र चुलाचुली गाउँपालिका ६ तोरीबारीका ५१ वर्षीय हेमबहादुर बिश्वकर्मा रहेका छन् ।

 

नेपालीले परिवर्तित नाम (इलाम–ढ)लाई ललाइफकाई, धाकधम्की दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट चैत १४ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको थियो।

 

पक्राउ परेका नेपालीलाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक संजिव बोगटीले बताए ।

 

त्यसैगरी, जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुलीका ५१ वर्षीय हेमबहादुर बिश्वकर्मा पक्राउ परेका हुन् । उनले नाम परिवर्तन (इलाम–त) लाई किराना पसलमा सामान किन्न गएको बेला एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।

 

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी पेल्टिमारीबाट चैत १७ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा बिश्वकर्मालाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका बिश्वकर्मालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् । दुवै बालिकाकाे उमेर ११ वर्ष रहेकाे जनाइएकाे छ।