शनिश्चरे । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा अर्जुनधारा ४ र अर्जुनधारा ८ भिड्ने भएका छन्।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो। टस जितेर वडा नम्बर २ ले बलिङ रोजेपछि खेलको पहिलो इनिङमा वडा नम्बर ८ ले ब्याटिङ गरेको थियो।
वडा नम्बर ८ ले पाँच विकेट गुमाएर १५६ रन बनायो । वडा नम्बर ८ का लागि बादल कुँवरले ३९ बलमा ४३ रन प्रहार गरे । त्यस्तै टिमका पहिलो रोजाईका खेलाडी भुवन सन्जेलले ३२ बलमा ४० रन प्रहार गरे । बलिङतर्फ वडा नम्बर २ का रिहान श्रेष्ठले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएका थिए।
१५७ रनको लक्ष्य पछाएको वडा नम्बर २ ले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्न सकेन। उसले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो। ब्याटिङमा जम्न नसक्दा उपाधि दावेदार मानिएको २ नम्बर वडाको टिम सेमिफाइनलबाटै बाहिरियो ।
पहिलो खेलको म्यान अफ दि म्याच वडा नम्बर ८ का भुवन सन्जेल चुनिए । उनले टिमका लागि ब्याटिङतर्फ ३२ बलमा ४० रन जोडेका थिए भने बलिङतर्फ चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।
अर्जुनधारा ७ स्थित अर्जुनधारा रङ्गशालामा अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई ५५ रनले पराजित गर्दै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिलो ब्याटिङ रोजेको वडा नम्बर ४ ले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो।
४ नम्बर वडाका लागि तुुसार मगरले सर्वाधिक ३५ बलमा ५२ रन प्रहार गरे । पहिलो इनिङमा बलिङको निम्तो पाएको वडा नम्बर ७ का प्रखर कटवालले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए ।
१२८ रनको लक्ष्य पछाएर जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ७ ले १३ ओभर ३ बलमा सबै विकेट गुमाएर ७३ रनमात्रै बनाउन सक्यो। बलिङतर्फ ४ नम्बर वडाका तुसार मगरले चार विकेट लिएका थिए भने रुसिल रिमालले तीन विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ४ का तुसार मगर म्यान अफ दि म्याद चुनिए । उनले टिमका लागि चार ओभरमा ११ रन खर्चेर चार विकेट लिएका थिए।
दुवै खेलमा म्यान अफ दि म्याच चुनिएका खेलाडीलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले मेडलसहित नगद १ हजार हात पारे।
प्रतियोगिताको फाइनल खेल आज ११ बजे अर्जुनधारा रङ्गशालामा हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछ। प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले आकर्षक बाइसाइकल प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्टर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३-३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।