अर्थ बजार

डाँगीहाट मोरङ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

By admin

April 07, 2025

इलाम । साविक विजेता डाँगीहाट एफसी मोरङ इलामको देउरालीमा आजदेखि सुरु पाँचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

उद्घाटन खेलमा आयोजक देउराली स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै चौँथो संस्करणको विजेता मोरङ अन्तिम चारमा प्रवेश गरेको हो ।

 

मोरङको जितका लागि पहिलो हाफको २९औं मिनेटमा सविन राई र ३४औं मिनेटमा अभिशेक बम्जनले एक एक गोल गरेका हुन् । देउरालीका लागि खेलको ७३औं मिनेटमा अभिषेक राईले सान्त्वना गोल फर्काए ।

 

खेलको प्लेयर अफ दि म्याच मोरङका सविन राई घोषितहुँदै दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । उनलाई सन्दकपुर गाउँपालिकाका तुलाराम गुरुङले नगद प्रदान गरे ।

 

सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा गोल्डकपको फाइनल खेल २०८२ वैशाख १ गते हुनेछ । भोलि मंगलबार दोस्रो क्वाटरफाइनलमा रेडहर्ष एफसी इलाम र कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरबीच हुनेछ ।

 

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

 

आयोजक समितिका अध्यक्ष अइन्द्र राईका अनुसार उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ ।

 

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश थापा मगरले जानकारी दिए ।