खेलकुद

अर्जुनधारा ८ लाई टि-२० क्रिकेटको उपाधि

By admin

April 08, 2025

शनिश्चरे । झापाको अर्जुनधारामा सम्पन्न प्रथम वडास्तरीय टि–२० क्रिकेटको उपाधि अर्जुनधारा ८ ले जितेको छ। जितसँगै अर्जुनधारा ८ ले नगद ५० हजारसहित ट्रफी पायो ।

 

नगर खेलकुद विकास समिति अर्जुनधाराको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४ लाई ७ विकेटले पराजित गर्दै अर्जुनधारा ८ ले उपाधि कब्जा गरेको हो ।

 

उपविजेता बनेको अर्जुनधारा ४ ले नगद २५ हजार र ट्रफीमा चित्त बुझायो । टस जितेर पहिलो ब्याटिङ गरेको अर्जुनधारा ४ ले १८.५ बलमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो। उसका लागि विशाल मगरले ३० बलमा ३५ रनको योगदान गरे । अर्जुनधारा ४ विरुद्धको बलिङमा अर्जुनधारा ८ का प्रदीप श्रेष्ठले सर्वाधिक तीन विकेट लिए।

 

१०९ रनको लक्ष्य लिएर मैदान उत्रिएको अर्जुनधारा ८ ले १४.१ बलमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जवाफी ब्याटिङमा उत्रिएको अर्जुनधारा ८ का लागि सुरुवाती चार ओभर चुनौतीपूर्ण रहे पनि कप्तान भुवन सन्जेल र चन्द्र भट्टराईको साझेदारीले टिमले सहजै जित निकाल्यो ।

 

अर्जुनधारा ८ का लागि चन्द्र भट्टराईले ३६ बल खर्चिएर अर्धशतकसहित ६१ रन प्रहार गरे । त्यस्तै कप्तान भुवन सन्जेलले २४ बलमा ३४ रन प्रहार गरेका थिए। बलिङतर्फ रुसिल रिमालले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिएका थिए।

 

अर्जुनधारा ८ का लागि उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्र भट्टराई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । भट्टराईले आकर्षक बाइसाइकलसहित प्लेयर अफ दि सिरिजको ट्रफी हात पारे । उनले फाइनल खेलको उत्कृष्ट खेलाडीको पुरस्कारवापत नगद १ हजारसमेत पाए।

 

विजयी टिमका भुवन सन्जेलले प्रतियोगिताको बेस्ट ब्याट्सम्यानको पुरस्कार हात पार्दा अर्जुनधारा ८ कै सञ्जय धिमालले उत्कृष्ट बलरको पुरस्कार पाए भने अर्जुनधारा ३ का गौरव निरौलाले बेस्ट फिल्डरको पुरस्कार पाए । उनीहरूले जनही नगद ३ हजारसहित ट्रफी पुरस्कार पाए। । प्रतियोगिताकै फ्लेयर प्ले टिमको पुरस्कार अर्जुनधारा ९ ले हात पार्यो। उसले नगद ५ हजार पुरस्कार पायो।

 

प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधामा पुरस्कार हात पार्ने खेलाडीहरूलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, अर्जुनधारा ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, कार्यपालिका सदस्य भोला परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।