झापा । एन्फा रेफ्री स्वर्गीय लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि ध्रुवतारा स्र्पोटिङ क्लब दमकले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा ध्रुवताराले राजगढ फुटबल क्लबलाई १-० को गोलअन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । ध्रुवताराका लागि सक्सेस राईले गरेको एकमात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको ध्रुवतारा स्र्पोटिङले उपाधिसँगै नगद ७० हजार ट्रफी र मेडल हात पार्यो भने उपविजेतामा सीमित राजगढ फुटबल क्लबले नगद ४० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यस्तै, प्लेयर अफ द म्याच राजगढ फुटबल क्लबका श्याम मुर्मु चुनिए भने उत्कृष्ट गोलरक्षक ध्रुवताराका आयुस लिम्बू बने । उत्कृष्ट डिफेन्डर ध्रुवताराकै रोशन धिमाल बन्दा उत्कृष्ट मिडफिल्डर राजगढका पवन मास्के चुनिए ।
सर्वाधिक गोलकर्ता विजेताको टिमका सक्सेस राई बन्दा उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका सुजन मगर भए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिमका प्रविन राई घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल फुटबल रेफ्री संघ केन्द्रीय उपाध्यक्ष मधुसुदन खनाल, झापा जिल्ला जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ लगायतले पुरस्कृत गरेका थिए ।