समाज

दुर्घटनामा घाइते सहारा नेपालका कर्मचारी प्रल्हाद राजवंशीको मृत्यु

By admin

April 28, 2025

झापा । दुई साताअघि सवारी दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।

 

सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड ६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

गत चैत ३१ गते अन्दाजी १ः३० बजे बिर्तामोड ६ रेखा पुलनजिकै पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १० प ७३३६ नम्वरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्र. १-०१-००१ च ९८७३ नम्वरको छोटा हात्ती गाडीलाई ओभरट्याक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र. १-०३-००१ ज ००४८ नम्वरको इलेक्ट्रिक भ्यान एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी २३ वर्षीया प्रियंँका राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

 

तीनवटै सवारी साधन, भ्यान चालक इलाम माईजोगमाई गाउँपालिका ५ बस्ने २२ वर्षीय नविन खत्री, छोटा हात्ती गाडी चालक ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिकका ५ बस्ने ३० वर्षीय बुद्धिवीर तामाङलाई अस्थायी प्रहरी चौकी बुट्टाबारीले नियन्त्रणमा लिएको छ ।