समाज

अर्जुनधाराका सामाजिक व्यक्तित्व टंक बरालको दुर्घटनामा मृत्यु

By admin

April 30, 2025

बिर्तामोड । झापा अर्जुनधाराका सामाजिक व्यक्तित्व टंकप्रसाद बरालको सवारी दुर्घटनामा आज साँझ मृत्यु भएको छ ।

 

आज साँझ बिर्तामोड चारआली सडक खण्डमा भएको सवारी दुर्घटनामा ६८ वर्षीय बरालको मृत्यु भएको हो । साँझ ५ः३० बजे मेचीनगर १३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना. ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका १० का ६८ वर्षीय बराल घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

मृतकको शव सोही अस्पतालमा रहेको छ। ट्रक, ट्रक चालक पाँचथर फिदिम ११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेन र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

बराल सुखानी सहिद स्मृति उद्यान, सालबारीका अध्यक्ष हुन् । शनिश्चरे गाविसका पूर्व उपाध्यक्ष, सरस्वती बाल कल्याण माविका पूर्व विव्यस अध्यक्ष, शनिश्चरे माविका पूर्व विव्यस सदस्य, झापाका सहकारी अभियन्ता हुन् ।