खेलकुद

धाइजन-चारआली बाहुनडाँगी च्यालेञ्ज कपको फाइनलमा

By admin

May 01, 2025

बाहुनडाँगी (झापा) । धाइजन-चारआली एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी युवा क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै धाइजन-चारआली उपाधि नजिक पुगेको हो ।

 

घरेलु समर्थकको समर्थन भए पनि आयोजकको घरेलु मैदानमै पराजित गरेर धाइजन-चारआलीले शनिबार हुने फाइनल खेलमा इलामको रेडहर्ष एफसीसँग भेट पक्का गरेको छ ।

 

धाइजन-चारआलीका लागि आर्यन राई र आशिष चापागाईले गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आशिष चापागाई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले नगद २ हजार र ट्रफी प्रदान गरे ।

 

विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ ।

 

प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार पाउँदा विधागततर्फ ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल वैशाख २० गते हुनेछ ।