शिक्षा

आजदेखि कक्षा १२ को परीक्षा

By admin

May 04, 2025

काठमाडौँ । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिक १ लाख १५ हजार ६१७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

 

५ हजार २०२ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहींको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् ।

 

७७ जिल्लामध्ये सबैभन्दा कम मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौंबाट ६८ हजार १३३ जना परीक्षार्थी छन् । मनाङ र मुस्ताङमा १–१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

 

जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २०९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।

 

कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २४० परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८७१, मधेशबाट ६९ हजार ८०८ जना, गण्डकीबाट ४३ हजार ३४९, लुम्बिनीबाट ९० हजार ६७८ र सुदूरपश्चिमबाट ५० हजार ६५४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।