समाज

बिर्तामोडमा सामाजिक सञ्जालकाे प्रयोग र चुनाैतीबारे अन्तरक्रिया

By admin

May 05, 2025

बिर्तामोड । झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ । प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जे लेख्दा र बोल्दा हुन्छ भन्ने भावनाको विकास भएको बताइन् । सामाजिक सञ्जालमा धेरै विकृति भएको बताउँदै उनले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएकी छन् ।

 

कार्यक्रममा प्रेस काउन्सिलका निवर्तमान सञ्चालक सदस्य गणेश पोखरेलले सामाजिक सञ्जाल साक्षरतामा जानुपर्नेमा जोड दिए । परम्परागत मिडियालाई अहिलेको प्रविधियुक्त मिडिया बाउनुपर्ने बताएका उनले सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले मूलधारको मिडियासँग प्रतिस्पर्धा गर्नसक्ने वैकल्पिक माध्यमका रुपमा सामाजिक सञ्जालको रुपमा देखिएको बताए । उनले औपचारिक र अनौपचारिक मिडियामध्ये सामाजिक सञ्जाल अनौपचारिक मिडियाका रुपमा रहेको बताए ।

 

त्यस्तै, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा विकास भएको बताए । उनले सामाजिक सञ्जाललाई नागरिक पत्रकारिता भनिए पनि विश्वसनीयता र जवाफदेहिताका लागि मूल पत्रकारिता नै आवश्यक रहेको दाबी गरे ।

 

कार्यक्रममा साझा मञ्च टडकमका सम्पादक गोपाल काफ्ले, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, चलचित्र पत्रकार संघ झापा सचिव एकराज प्रधान, पत्रकार मनकुमार गदाललगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।

 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पत्रकार उमाकान्त खनालले सामाजिक सञ्जाल सम्वादको सस्तो र लोकप्रिय माध्यम भएको बताए । सामाजिक सञ्जाल राम्रो कामका लागि वरदान सावित भएको बताउँदै उनले प्रमोशनल कामका लागि सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

 

यसैबीच, नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरिएको थियो । प्राइम मिडिया प्रालिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, प्रधान सम्पादक रमेश तिवारीको सञ्चालन रहेको कार्यक्रममा स्वागत मिडियाका सञ्चालक सदस्य पदम श्रेष्ठ गरेका थिए ।