खुदुनाबारी । मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो अन्दाजी ३ः३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्को स्काभेटर नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी चौकी खुदुनाबारीको टोलीले स्काभेटरलाई खोलाबाट निकाली सुरक्षित राखेको छ । ती स्काभेटर आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, अर्जुनधारा ४ स्थित टाङटिङ खोलाबाट जथाभावी उत्खनन् गरेको भन्दै शुक्रबारबाट नदीजन्य सामग्री उत्खनन् तथा ओसारपोसारमा रोक लगाएको छ । २५ गते बसेको जनप्रतिनिधिसहितको सर्वपक्षीय भेलाले नदीजन्य सामग्री उत्खनन् नरोके जनता नै प्रतिकारमा उत्रने चेतावनी दिएपछि वडा कार्यालयले रोक लगाएको हो ।
मापदण्डविपरीत नदी उत्खनन् गर्दा कुलोपैनी सुकेको, पानीको मुहान उठाउन समस्या भएको, आसपासका ट्युवेल तथा इनारमा पानीको समस्या आएको, नजिकका खेती योग्य जमिनमा सुक्खा भएको भन्दै उत्खनन् गर्न रोक लगाइएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै ट्रिपरले पानीसहित नदीजन्य सामग्री बोग्दा कालोपत्रे सडक तहसनहस भएको, बालबालिका र वृद्धहरुलाई असर परेको भन्दै उत्खनन् कार्यलाई रोकिएको वडाध्यक्ष अम्बरबहादुर कटुवालले जानकारी दिए ।