समाज

बिर्तामोड-अर्जुनधाराबाट चोरिएका अटो र मोटरसाइकलसहित ४ जना पक्राउ

By admin

May 19, 2025

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ गरेको छ । विभिन्न मितिमा बिर्तामोड र अर्जुनधारा क्षेत्रबाट एउटा अटो र ४ वटा मोटरसाइकल चोरिएको थियो ।

 

पक्राउ पर्नेमा बिर्तामोड ३ स्थित सैनिक मोड बस्ने रञ्जित राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी र बिर्तामोड ४ परोपकार टोलमा डेरा गरी बस्ने जागिर आलम रहेका छन् । राजवंशीत्रय एकाघरका दाजुभाइ हुन् ।

 

राजवंशी दाजुभाइ चोरीमा संलग्न रहेको र आलम ग्यारेज सञ्चालक रही चोरीको बाइक बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरीको चार वटा बाइक र एउटा अटोसहित चोरीमा संलग्नहरुलाई पत्रकार सम्मेलन गरी सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो ।

 

प्रहरीले उनीहरुको साथबाट मे. १ ह ४८९६ नम्बरको अटो, मे. ८ प २११६ नम्बरको एभेन्जर बाइक, प्रदेश १(०१(०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर, मे. ९ प ३६१८ नम्बरको पल्सर बाइक र मे ९ प ८६३० नम्बररको टिभिएस स्ट्राइक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

 

सिसी टिभी फुटेजको आधारमा अनुसन्धान अगाडि बढाएको घटनामा अटोसहित २६ वर्षीय प्रदिप राजवंशीलाई पक्राउ गरिएको श्रेष्ठले बताए । चोरीमा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आइतबार चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।