समाज

झापामा तामाको तारसहित कवाडी टिप्ने दुई जना पक्राउ

By admin

May 23, 2025

झापा । कवाडीको सामान भेला गर्दै हिँड्ने दुई भारतीय नागरिक झापाको मेचीनगरबाट चोरीको तारसहित पक्राउ परेका छन् ।

 

बुधबार बिहान मेचीनगर नगरपालिका ७ को ५ नम्बर पोष्टस्थित चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत पानीट्याङकी बस्ने २७ वर्षीय तापच बर्मन र सोही ठाउँ बस्ने २२ वर्षीय अमित सरकार रहेका छन् । उनीहरुको साथबाट अन्दाजी सय केजीको ४ मुठा तामाको तार फेला परेको थियो । उक्त तार मेचीनगर १३ चारआली आसपास क्षेत्रबाट चोरी गरेको खुलेको थियो ।

 

यसैबीच, नेपाल टेलिकम धुलाबारी शाखाले बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएको थियो । अन्दाजी ८० हजार मूल्यबराबरको तारसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

 

एक महिनाअघि पनि टेलिफोनको तारसहित चारजना भारतीय नागरिक मेचीनगर ७ इँटाभट्टामा पक्राउ परेका थिए । उनीहरुले मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुलमुनि गाडेको ठाउँबाट तार चोरी गरेका थिए ।