शनिश्चरे । झापाको अर्जुनधारामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । आज भएको प्रतियोगिताबाट ७ महिला र ९ पुरुषसहित १६ जना फाइनलमा प्रवेश गरेका छन् ।
उद्घाटन कार्यक्रममा पुरुष ९१ केजीमा उदयपुरका पुष्पलाल न्यौपानेले स्वर्ण पदक जितेका छन् । झापाका रिजन श्रेष्ठलाई हराउँदै न्यौपानेले स्वर्ण जितेका हुन् । कोही प्रतिस्पर्धी नभएपछि उनीहरु सोझै फाइनलमा प्रवेश गरेका थिए ।
यसैबीच, झापा जिल्ला खेलकुद विकास समितिको आयोजना, प्रदेश खेलकुद विकास बोर्डको सहयोग, अर्जुनधारा नगरपालिकाको संयोजन तथा झापा जिल्ला बक्सिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले शुभकामना व्यक्त गरेका थिए । आयोजक अध्यक्ष भेषराज भण्डारी प्रशान्तले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।