दमक । झापाको दमक ३ स्थित बेलडाँगीबाट प्रहरीले फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बेलुका अन्दाजी ८ः३० बजे बेलडागीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर डी वान हट नम्बर १०१ मा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट टोली खटिएको थियो ।
प्रहरी टोलीले २९ वर्षीय किरण राईको घरभित्र शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा भारत बिहार, नगानिगम पुर्निया सिटी ३४ का ३६ वर्षीय मनिशकुमार गुप्तामाथि चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
गुप्ताले गोजीमा लुकाइछिपाई राखेको अवस्थामा प्लाष्टिकसहित ९ ग्राम ६२ मिलिग्राम फेला परेकोले दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।