समाज

दमकमा श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने सप्तरीका दिलिप पक्राउ

By admin

June 03, 2025

झापा । सप्तरी घर भइ दमकमा डेरा बस्दै आएका दिलिपकुमार मरिक डोम श्रीमतीलाई विष खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

 

सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर २ घर भएका डोम झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित सुम्निमा टोलमा डेरा बस्दै आएका थिए । गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई विष खुवाएर मार्न खोजेका थिए ।

 

खोकी लागेका बेला कफ सिरप भनेर उनले श्रीमतीलाई विष खुवाउन खोजेका थिए । यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।

 

घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार कल्याणपुरबाट पक्राउ गरेको हो ।

 

उनलाई हिजो इलाका प्रहरी कार्यालय दमकमा ल्याई बुझाइएको छ । झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।