झापा । झापाको बिर्तामोडमा श्रृंखलावद्ध चोरी भइरहेको अवस्थामा चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । करिव एक महिनाअघि बिर्तामोड ४ बस्ने कमला कार्कीको घरबाट लाखौंको धनमाल चोरी भएको थियो । त्यस घटनामा संलग्नहरु पक्राउ परेका हुन् ।
गत वैशाख १५ गते दिउँसो १ः३० बजे कार्कीको घरको मुल ढोकामा लगाएको ताल्चा फोरेर कोठाभित्र रहेको दराज फुटाई दराजको सेफ लकरमा राखेको नगद तथा ढिका सुन ५ तोला, पाँच तोला आठ आनी सुनबाट तयार गरिएको सुनको गहनाहरु ब्रास्लेट, सिक्री २ थान, एक तोला आठ आनीको सुनको औंठी २ थान, चार आनी सुनको चन्द्रमा र तीन तोला सुनबाट तयार गरिएको सुनको गहनाहरु चोकर, लकेट ७ थान गरी २९ लाखबराबरको धनमाल चोरी भएको थियो ।
चोरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको अनुसन्धान थालेको थियो । त्यसक्रममा आशंकित बिर्तामोड ७ बस्ने २७ वर्षीय दिपेश खवासलाई नियन्त्रमा लिई सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चासमेत फुटाई सुनको गहना चोरी गरेको स्वीकार गर्दै सो गहना बिर्तामोड ४ बस्ने ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बताएका थिए ।
त्यसपछि पवन चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उनले दिपेश खवाससँग खरिद गरेको गहना मेचीनगर १० धुलाबारी बस्ने ३३ वर्षीय आशिष श्रापलाई बिक्री गरेको खुलेको थियो ।
आशिष श्रापले सञ्चालन गर्दै आइरहेको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाईन्ट सुन फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।