जलथल (झापा) । बिर्तामोडको न्यू स्टार फुटबल क्लबले यहॉ आयोजित दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
शान्ति सामुदायिक वनको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भाउन्ने युथ क्लब मोरङलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि चुमेको हो । खेलको निर्धारित समयमा २-२ गोलको बराबरी भएको थियो ।
खेलको नतिजा टाइब्रेकरमार्फत निकालिएको थियो । ७० मिनेटको खेलमा भाउन्नेका लागि दुवै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका लागि सौरभ सुब्बा र करन लिम्बूले एक एक गोल गरेका हुन् ।
उपाधिसँगै न्यू स्टारले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता भाउन्नेले ५१ हजारसहित ट्रफीमा चित्त बुझायो । खेलको म्यान अफ दी म्याच न्यू स्टारका पेमा तामाङ घोषित हुँदै नगद दुई हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी न्यू स्टारका निमा तामाङ घोषित भए । उनले पॉच हजारसहित ट्रफी प्राप्त गरे । यस्तै, उत्कृष्ट गोलरक्षकमा न्यू स्टारका विवेक मगर, वेष्ट डिफेन्डरमा न्यू स्टारका देवेन्द्र तामाङ, बेष्ट मिडफिल्डरमा न्यू स्टारकै बादल तामाङहुँदा वेष्ट फर्वाड भाउन्नेका आयुस राई र हाइ स्कोररमा भाउन्नेका उमेश राई बने । वेष्ट कोचमा न्यू स्टारका अन्गु सुब्बा घोषित भए । प्रत्येक उत्कृष्टले नगद तीन-तीन हजार प्राप्त गरे ।
जलथल फुटबल क्लबले जेठ १७ गतेदेखि आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलको उद्घाटन संघीय सांसद राजेन्द्र लिङदेनले गरेका थिए ।