अर्थ बजार

अर्जुनधारामा मल बिक्री गर्ने डिलरलाई मूल्यसूची राख्न निर्देशन

By admin

June 08, 2025

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले सरकारबाट प्राप्त हुने अनुदानको मल बिक्री वितरण गर्दा मान्यता प्राप्त डिलर, सहकारीलाई मूल्यसूची कृषकले देख्नेगरी राख्न सूचना जारी गरेको छ ।

 

सरकारको अनुदानमा प्राप्त मल प्रदेशबाट कोटा बाँडफाँड भइ स्थानीय तहमा आउने र स्थानीय मल ब्यबस्थापन समितिको निर्णयबमोजिम डिलर, सहकारीहरुमा कोटा निर्धारण गरी सिफारिस गर्ने गरिएको छ।

 

यसैबीच, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले एक सूचना जारी गर्दै मल बिक्री गर्नका लागि मान्यता प्राप्त डिलर तथा सहकारीहरुलाई तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन र कृषकले देख्ने गरी मूल्यसूची टाँस गर्न निर्देशन दिइएको छ ।

 

सूचनामा युरिया मल प्रतिबोरा ९२२, डिएपी २ हजार ३७२ र पोटास १ हजार ७७२ रुपैयाँ तोकिएको नगरपालिकाको स्थानीय मल वितरण व्यवस्थापन समितिले निर्णय गरेको जनाइएको छ ।

 

सरकारले तोकेको मूल्यसूचीमा ढुवानी खर्च जोडेर ब्यबस्थापन समितिले निर्धारण गरेको मूल्यसूची डिलर सहकारीहरुलाई कृषकले देख्नेगरी बारम्बार टास्न जानकारि गराउँदै आएका पनि उल्लेख छ ।

 

नगरमा कृषकका लागि पर्याप्त मात्रामा नभए पनि निरन्तररुपमा युरिया, डिएपी मल आइरहेको कृषि शाखाकी प्रमुख एन्जिला बेडारीले बताइन् । उनका अनुसार कृषकहरुलाई मलको सिफारिस मात्रा थाहा नहुँदा र बिक्री गर्नेले पनि आफ्नो बिक्री क्षेत्रबाहिर बिक्रीवितरण गर्ने गरेकाे पाइएकोले मल आवश्यकताभन्दा बढी अभाव भएको महसुस कृषकहरुले गरेका छन्।

 

यसको उचित अनुगमनको आवश्यकता समितिले महसुस गरेकाले यसै साताभित्र सूचना बमोजिमको मूल्यसूची राखे/नराखेको, मूल्यसूचीअनुरुप मल बिक्री गरे/नगरेको अनुगमन गरिने भएको छ ।

 

कृषकहरुबाट गुनासो आएपछि नगरपालिकाले सूचना प्रवाह गरेको जनाइएको छ । यदि निर्धारित मापदण्डअनुरुप नभेटिएको खण्डमा समितिले बिक्री गर्ने सहकारी, डिलहरुलाई जरिवानासमेत हुने जनाइएको छ ।

 

अर्जुनधारा नगरपालिका क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट ९ वटा र कृषि सामग्री कम्पनीमार्फत १८ वटा डिलर, कृषि फर्म, सहकारीलाई मल बिक्रीवितरण गर्ने अनुमति रहेको नगरले जनाएको छ । नगरपालिकाले जारी गरेकाे मूल्यसूची र मान्यता प्राप्त डिलर तथा सहकारीहरू निम्न रहेकाे कृषि शाखाले जनाएकाे छ ।