समाज

हेँवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

By admin

June 15, 2025

झापा । मेची राजमार्गस्थित पाँचथरको हेँवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार हिजो साँझ बेलिब्रिज खस्दा उनीहरु घाइते भएका थिए ।

 

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरी रहेका छन् । पाँचथर जिल्ला अस्पतालबाट रेफर गरी नोबेल अस्पताल विराटनगर पुर्याइएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

 

हिजो साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका-४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका-७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो।

 

बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको छ । घटनामा सिमराका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।