शनिश्चरे । अर्जुनधारा प्रेस क्लबलाई अर्जुनधारा नगरपालिका ९ नम्बर वडा कार्यालयले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री सहयोग प्रदान गरेको छ ।
वडा कार्यालयले क्लबलाई कार्यालय सामग्री खरिदका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबराबरका विभिन्न सामग्री खरिद गरी शुक्रबार हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष भिष्म मिश्रले क्लबका अध्यक्ष रमेश समदर्शी राई, संस्थापक अध्यक्ष कुमार भट्टराईलगायत पदाधिकारीलाई खरिद गरिएको सामग्री हस्तान्तरण गरेका हुन् ।
क्लबको कार्यालयमा आवश्यक पर्ने टेबल, कुर्सी, पंखा, पिउने पानीका लागि फिल्टरलगायत सामग्री खरिद गरिएको क्लबका उपाध्यक्ष प्रेम आचार्यले जानकारी दिए । वडाध्यक्ष मिश्रले नगरकाे सञ्चार क्षेत्रलाई पनि सहयाेग गर्न पाएकाेमा खुसी व्यक्त गर्दै सहयाेग जारी रहने बताए ।
स्थानीय सञ्चार क्षेत्रको संरक्षणका लागि सहयोग गर्ने वडाध्यक्ष मिश्रसहित वडा सदस्यलाई संस्थापक अध्यक्ष भट्टराईले आभार व्यक्त गरे । अध्यक्ष समदर्शीले क्लबलाई गरिएको सहयोगप्रति सिंगो वडा कार्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।