खेलकुद

दमकमा क्यारेमबोर्ड र लुडो खेल्न प्रतिबन्ध

By admin

June 24, 2025

दमक । झापाको दमक नगरपालिकाले क्यारेमबोर्ड र लुडो खेललाई नगरभरि प्रतिबन्ध लगाएको छ । बजारमा होहल्ला गर्दै क्यारेम बोर्ड र लुँडो खेल्ने क्रम बढेपछि नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको हो ।

 

जुवाजन्यरुपमा हारजितसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउँदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।

 

नगरपालिकाले गरेको सर्वपक्षीय छलफलमा यो विषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ । यो खेल जुवाजन्य नभए पनि ठुलो धनराशिको बाजी खेल्ने गरेको पाइएको पनि छलफलमा कुरा उठेको बताइएको छ ।

 

बाह्रमासे हिसाबले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कार्वाही गरिने उनको चेतावनी छ ।

 

सार्वजनिक सूचना जारी गरिएको र अटेर गरेको पाइएमा कार्वाही गर्ने भन्दै उनले निर्णय कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिएको बताएका छन् । यसैबीच, क्यारेमबोर्ड र लुँडो प्रतिबन्ध गरिएकोप्रति कतिपयले विरोध पनि जनाएका छन् ।