अर्थ बजार

अर्जुनधाराको बजेट ९५ करोड ९ लाख

By admin

June 24, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

 

आज नगरपालिकाको १७औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ।

 

नगर उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकाससम्बन्धी आयोजनाका लागि १४ करोड ११ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकाससम्बन्धी कार्यक्रमहरुका लागि ५ करोड ७९ लाख, आर्थिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि ३ करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

 

यसैगरी, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ६० लाख, संस्थागत विकास तथा सुशासनसम्बन्धी कार्यक्रमहरुका लागि १ करोड ५० लाख, वित्तीय व्यवस्थाका लागि २५ लाख तथा नगरपालिकाको प्रशासनिक खर्च व्यवस्थाका लागि १४ करोड ७८ लाख रुपैयाँ नगरले विनियोजन गरेको बजेट तर्जुमा समिति संयोजक पराजुलीले जानकारी दिइन्।

 

नगरले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको वित्तीय समानिकरण अनुदान १६ करोड ८७ लाख, राजश्व बाँडफाँडवापत १३ करोड ९४ लाख, सशर्त अनुदान ३२ करोड ९५ लाख, विशेष अनुदान १ करोड १ लाख, समपूरक अनुदान ३ करोड १४ लाख प्राप्त गर्ने अनुमान गरेको छ ।

 

त्यस्तै, कोशी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ५९ लाख १४ हजार, राजश्व बाँडफाँडवापत १ करोड ५४ लाख ९९ हजार, सशर्त अनुदान २ करोड ४३ लाख २१ हजार, समपूरक अनुदान ६० लाख प्राप्त गर्ने अनुमान गरेको छ।

 

यस्तै, नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट ८ करोड, स्थानीय राजश्व बाँडफाँडवापत ७ करोड ५० लाख, जनसहभागितावापत २ करोड ५० लाख तथा नगद मौज्दात ३ करोड ८७ हजार प्राप्त हुने अनुमान गरेको आज सम्पन्न नगरसभामा जनाईएको छ ।

 

सभाका अध्यक्ष तथा नगर प्रमुख बलदेव गोम्देनले नगरसभाको अर्को बैठक असार १६ गते बस्नेगरी स्थगित भएको जानकारी दिए ।