अर्थ बजार

दुई सातादेखि सुकेटारमा हवाई सेवा ठप्प

By admin

June 28, 2025

फुङलिङ । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई उडान ठप्प भएको छ ।

 

चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।

 

निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् ।

 

प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ-ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था नभएको बताए ।

 

शुक्रबार ताप्लेजुङ-काठमाडौँ र काठमाडौँ-ताप्लेजुङ उडानमा तीन-तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ ।

 

टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् । वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् ।