शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकालाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ।
१६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न भएपछि आयोजित एक विशेष कार्यक्रममा नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख बलदेवसिंह गोम्देनले औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् ।
नगर पूर्ण खोप सुनिश्चित भएसँगै ११ वटै वडाका स्वास्थ्य संस्थाहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। साथै, २०८२ सालको लागि पनि खोप कार्यक्रमप्रति प्रतिबद्धता जनाउँदै नगर प्रमुख गोम्देनले स्वास्थ्य क्षेत्रमा सेवाको भाव राखेर काम गर्न निर्देशन दिए ।
स्वास्थ्य लाभ लिने सेवाग्राहीको संख्या बढाउनु भन्दा पनि प्रक्रिया पुर्याएर स्वास्थ्यकर्मीले सेवा सुविधा प्रदान गर्नुपर्नेमा उनको जोड थियो । पूर्ण खोप सुनिश्चितता घोषणाका लागि ७ प्रकारका खोप १४ वटा रोगका लागि लगाइन्छ ।
नगरमा १६ देखि ५९ महिनाका २ हजार ४४४ जना बालबालिकाले पूर्ण खोप पाएको स्वास्थ्य शाखा प्रमुख मुकुन्दराज बस्नेतले जानकारी दिए । उनका अनुसार १५ महिनासम्मका ९१३ जना बालबालिकाले नियमित खोप लगाइरहेका छन् ।
उनका अनुसार वडाका घरधुरी सर्वेक्षणबाट पूर्ण खोपबाट बञ्चित भएका १५ जना बालबालिका फेला परेपछि वैशाखभित्र पूर्ण खोप लगाइएको कार्यक्रममा जानकारी दिइयो । ४ र ११ नम्बर वडामा ४-४ जना, ७ र ८ नम्बर वडामा २-२ जना र ६ नम्बर वडामा ३ जना रहेका छन् ।
कार्यक्रमपछि नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सम्पूर्ण जनप्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसैबीच, सोही कार्यक्रममा स्वयंसेविकाहरु अर्जुनधारा ६ की टंकदेवी ढुंगाना र अर्जुनधारा ५ की अमृता बस्नेतलाई बिदाइ गरिएको छ । उनीहरुले उमेर हटका कारण अवकाश पाएका हुन् । ढुंगाना २०४७ र बस्नेत ०५१ सालबाट स्वयंसेविकाको रुपमा कार्यररत थिइन् ।
सोही कार्यक्रममा ‘एक वडा एक चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरपालिकाले एक जना मेडिकल अफिसर नियुक्ति गरेको छ । गुणस्तरीय सेवा दिने उद्देश्यका साथ सबै वडामा मेडिकल अफिसर पुग्ने बताइएको छ । सो कार्यक्रमसँग सम्बन्धित उपकरण नवनियुक्त चिकित्सक डा. रुकमान तामाङलाई नगर प्रमुख गोम्देनले हस्तान्तरण गरे ।