समाज

ताप्लेजुङमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

By admin

July 02, 2025

फुङलिङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिएको हो ।

 

पहिरोमा परी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ । कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए ।

 

उनका अनुसार गएराति करिब १ बजेको समयमा पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए ।

 

पहिरोका कारण हस्तबहादुरसहित घरमा तथा मतानमा सुतेका छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएको बताइएको छ ।