समाज

झापामा कुटपिटबाट घाइते दुवै किशोरको मृत्यु, ६ जना पक्राउ

By admin

July 03, 2025

झापा । झापाको शिवसताक्षीमा साथीहरुकै कुटपिटबाट घाइते भएका दुवै युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ९ का १९ वर्षीय रोमन थापा र संगम चोकका १५ वर्षीय आदित्य तामाङ रहेका छन् ।

 

बुधबार दिउँसो १ः४५ बजे आदित्य तामाङको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । यसअघि कुटपिटबाट घाइते भएका शिवसताक्षी ९ बस्ने १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो ।

 

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी ११ का १५ वर्षीय मगर थरका, १४ वर्षीय राई थरका, वडा नं ९ का १४ वर्षीय लिम्बू थरका, १४ वर्षीय लिवाङ थरका, १३ वर्षीय लिम्बू थरका र १५ वर्षीय असिलवाल किशाेर रहेका छन् ।

 

कुटपिटमा संलग्न पाँच जनालाई सोमबार राति नियन्त्रणमा लिइएको थियो भने फरार रहेका सिलवाललाई खोजतलास गर्ने क्रममा बुधबार बिहान ८ बजे उनको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

असार ११ गते बिहान अन्दाजी ६ः४० राष्ट्रिय रमणीय मावि दूधेमा कक्षा ८ मा अध्ययनरत आदित्य तामाङ स्कुलबाट ट्युसन पढेर घरतर्फ फर्कदै गर्दा ध्रुबतारा बोर्डिङ स्कुल दूधेमा अध्ययनरत १४ वर्षीय राईसमेत ६ जनाले प्लटिङमा बोलाई कुटिपट गरेका थिए । घाइतेलाई बीएण्डसी अस्पताल लगिएको थियो । बीएण्डसी अस्पतालमा उपचारका क्रममा आदित्यको मृत्यु भएको हो ।

 

कुटपिट गर्नेहरुलाई पक्राउ गरी आवश्यक कारबाही गरि पाउँ भनी आदित्यका आफन्तले सोमबार लिखित निवेदन दिनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।