समाज

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभाव कायमै

By admin

July 06, 2025

झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

 

हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला रोपाइँ गरिसकेको बताए। ुअघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको पनि उनले सुनाए ।

 

डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुःखेसो गरे। रोपाइँ नहुँदा बीउ पहेँलिएको छ । गतवर्ष यतिबेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

 

कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

 

यसैबीच, झापामा गत वर्षझैँ यसवर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए। झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए।

 

झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।