समाज

काँकरभिट्टामा पेस्तोलसहित प्रतिक अग्रवाल पक्राउ

By admin

July 08, 2025

झापा । काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जलपाईगुडी थाना भक्तिनगर सेवकरोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन् ।

 

आज बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारीसाधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाई राखेको अवस्थामा एयर पेस्तोलजस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो ।

 

त्योसँगै उनले बोकेको सानो छालाको साइड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, ४ थान, मोबाइल फेला परेको थियो । उक्त अवैध हतियार, मोबाईल र सवारीसाधनसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए ।